१२ श्रावण २०८१, शनिबार

जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउनुपर्छः मन्त्री शर्मा

प्रकाशित मिति :  16 May, 2024 3:01 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सञ्चारिका समूहले नेपाली सञ्चारमाध्यममा वातावरण संरक्षणका विषय कसरी उठाउन सकिन्छ र यसको महिलासँग कस्तो अन्तरसम्बन्ध रहन्छ भन्ने विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

“जलवायु परिवर्तन ठूलो चुनौतीको रुपमा देखा परेको छ। यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ। नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो। हिमनदीहरू वर्षेनि खुम्चिँदै गएको र हिमताल फुटेर बाढी आउने सम्भावना बढ्दै गएको देखिन्छ”, मन्त्री शर्माले भन्नुुभयो,”जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपदका घटना वर्षेनी बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ।”

नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको संकटका कारण नेपालले मात्र होइन, यहाँबाट उत्पत्ति हुने पानीको स्रोतमा आधारित तल्लो तटीय क्षेत्रका करोडौं मानिसका लागि चुनौती थपिएको उल्लेख गर्दै उनले नेपालमा जलवायु परिवर्तनले ल्याउने संकटको पहिलो मार नेपालले खेप्नु परे पनि यो सिङ्गो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाइँलाई विश्वब्यापी एजेण्डाकै रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरुले भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् ।

यसका लागि नेपाल सरकारले विश्व समुदायसँग निरन्तर आह्वान गर्दै आएको र गत मंसिरमा यूएईको दुबईमा भएको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीले नेपालको चासो र चिन्ता विश्व समुदायसमक्ष हकदाबीकै रुपमा प्रस्तुत पनि उनले स्मरण् गरिन्।



प्रतिक्रिया दिनुहोस !