१२ श्रावण २०८१, शनिबार

संसदीय समिति बनाउन सहमति जुटेन, काँग्रेसले संसद बैठक अवरोध गर्ने

प्रकाशित मिति :  16 May, 2024 5:03 pm


काठमाडौँ । गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न दलहरूका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ ।

आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो ।

दलहरूका बिचमा सहमतिको प्रयास भएको भएपनि नेपाली काँग्रेसले भने अनुरुपको संसदीय छानविन समिति बनाउन सत्तारुढ दलहरू (सरकार) तयार नभएपछि काँग्रेसले अवरोध कायम राख्ने भएको छ ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सहमतीको बिन्दुमा पुग्न नसकिएको बताइन् । उनले सहमति जुट्न नसकेका कारण काँग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन् ।

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानविन गर्न तयार भएपनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानविन गर्न तयार नभएको बताए । उनले गृहमन्त्री लामिाछानेकेन्द्रित छानविन गर्नुपर्ने आफूहरुको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताए ।

उनले भने,”कुरो मिलेको छैन । छानविन समिति जुन हामीले माग गरेका छौँ । त्यसमा रविजी लगायत सहकारीमा दुरुपयोग, ठगि भएको छ । सबैलाई समेटेर छानविन हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसको लागि सत्तापक्ष तयार हुनुभएको छैन । उहाँहरूको सामान्यतया सहकारीहरूको कहाँ के समस्या छ त्यसको हेर्ने, त्यसको छानविन गर्ने भन्ने किसिमले आएको हुनाले सहमती हुन सकेको छैन” ।



प्रतिक्रिया दिनुहोस !