२१ मंसिर २०८२, आइतबार

सरकार सहकारीको रकम ठगी गर्नेलाई बचाउन लाग्योः काँग्रेस

प्रकाशित मिति :  17 May, 2024 11:14 am


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार र संवेदनहिन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको आरोप लगाएको छ ।

शुक्रवार संसद भवन परिसरमा बसेको काँग्रेसको संसदीय दलको बैठकले सरकार र सत्ता पक्षलाई जनहित बिरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय गरेको पनि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा वचत गरेको अर्बौंं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरू आफूहरूसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको बताए । उनले संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको बताए ।

उनले नेपाली काँग्रेस संसदीय दलको बैठकले संसदीय छानविन समिति गठन गर्न पुनः माग गर्ने निर्णय गरेको बताए । उनले संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर बिरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिने भन्दै सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर बिरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको ठहर काँग्रेसले गरेको बताए ।

प्रमुख सचेतक लेखकले संसदीय मान्यतामा सभामुखको भुमिका तटस्थ हुनुपर्ने भन्दै सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भुमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न आग्रह गर्ने निर्णय गरेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !