कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ: महेश बर्तौला
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसद्मा मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीबार संसद् अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहारको प्रयास गरेको उल्लेख गर्दै उनले कांग्रेसले संसद्मा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढङ्गले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गरेका हुन् ।
शनिबार काठमाडौँमा आयोजित ‘युवा’ विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसद्मा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताए ।
बर्तौलाले भने, “हाम्रा श्रद्धेय अध्यक्षमाथि नेपाली कांग्रेसका एक जना नेताले संसद्मा अशिष्ट र उद्दण्ड व्यवहार प्रदर्शन गरे । यसले के देखाउँछ भने राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय मूल्य, मान्यताको जगबाट संसद् चलाउने होइन । भिडभाड, दादागिरी र उद्दण्डताका साथ मुठभेडमा लैजान नेपाली कांग्रेस चाहन्छ भन्ने कुरा त्यो अस्तिको घटनाबाट देखिन्छ ।”
उनले संसद्मा कांग्रेसले सत्तापक्षको आसनमा आएर गरिएको दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुने बताए ।
बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क समेत गरे ।








