२० मंसिर २०८२, शनिबार

गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने विपक्षी मोर्चाको निर्णय

प्रकाशित मिति :  19 May, 2024 11:57 am


काठमाडौं । विपक्षी दलहरूको मोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो ।

कांग्रेसले रविमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित लगातार संसद अवरोध गर्दै आएको छ । रविले यस विषयमा संसदमा आफूले बोल्न पाउनुपर्ने अडान राख्दै आए पनि कांग्रेस तयार थिएन । तर, आज विपक्षी दलहरूको दोस्रो बैठक राखेको कांग्रेस यसमा लचिलो भएको हो ।

विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए ।

हिजो दलहरुबीच संसदीय समिति गठन गर्ने विषयमा सहमति भएपनि कार्यादेश (टीओआर)) टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस !