काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको होः प्रमुख सचेतक बर्तौला
काठमाडाैँ । नेकपा (एमाले) को प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय छानविन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेसले संसदीय छानविन समितिको नाम गरेर सरकारको माग गरेको बताएका हुन् । उनले गृहमन्त्री रवि लामिछानेको नाममा छानविन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत काँग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने बताए ।
“यस्तो बदनियत राखेर एउटा कोही अमुक व्यक्तिका नाममा अनुसन्धान गर्नका लागि अनुसन्धान अधिकारी नेपाली कांग्रेसले नियुक्त गर्न पाउँदैन । नेपाली कांग्रेसको यसप्रकारको दादागिरी, उदण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन । यदि काँग्रेस संवादको माध्यमबाट अगाडी बढ्न तयार छ भने हामी सम्वादको सबै वातावरण बनाएर अगाडी जान तयार छौँ,” उनले भने ।
उनले संसदीय छानविन समितिको कार्यादेश टुंग्याउन प्रमुख प्रतिपक्ष दलसँग संवाद कायम राखिने पनि बताए ।








