नेताहरूको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्योः विप्लव
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।
पद र कुर्सीका लागि नेताहरू राष्ट्रिय हितमा अडिन नसक्ने मुलुक एकदमै कमजोर अवस्था पुगेको उनको तर्क थियो । सोमवार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरू पदीय लोभमा फस्दा शान्ति प्रक्रियाका बाँकि कामहरु पनि ओझेल परेको दाबी गरे ।
उनले नेपालको संविधान विगतका सबै संविधानहरूभन्दा उत्कृष्ट भएपनि त्यसको कार्यान्वयनमा लाग्ने काममा नेताहरू पछि परेको बताए । महासचिव चन्दले बेपत्ता योद्धाहरूलाई राष्ट्रिय सम्मान गर्ने कुरामा राज्यले स्वामित्व लिने कुरामा ढिलाई गर्न नहुने पनि बताए ।
महासचिव चन्दले मुलुकलाई अघि बढाउन नेताहरूले आत्मनिर्भरताको बाटो रोज्नुपर्ने आवश्यकता पनि औल्याए ।








