२१ मंसिर २०८२, आइतबार

शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरूरी छः देव गुरूङ

प्रकाशित मिति :  20 May, 2024 6:32 pm


काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरूबिच कम्तीमा पनि सहमति नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने उनको निष्कर्ष थियो।

सोमबार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरूङले विश्वमा शान्ति नचाहने शक्तिहरूले नेपालमा पनि शान्ति प्रक्रियालाई भड्काउने प्रयास गरिरहेको दाबी समेत गरे।

महासचिव गुरूङले भने, “मुलुकको परिस्थितिको सन्दर्भमा सबै दलहरूबीच सहमति हुन जरूरी छ। सहमति हुन सकिराखेको छैन। कतिपय मुद्दाहरूमा सहमति हुन सकिराखेको छैन। राष्ट्रिय सहमतिको जरूरी छ। तर सहमति हुन सकिराखेको छैन। एउटा या दुइटा दलले चाहँदैमा मात्रै सहमति भइहाल्दैन। यो शान्ति प्रक्रियासँग जोडिएको हुनाले राष्ट्रिय सहमतिको जरूरी छ। कम्तीमा पनि शान्ति प्रक्रियामा सहभागी भएका दलहरूको सहमतिको जरूरी छ। ती दलहरूको सहमतिबिना यो टुंगिन कठिन छ।”

मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरूले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन नदिएको महासचिव गुरूङले दाबी गरे।

महासचिव गुरूङले दलहरूबीच राष्ट्र र राष्ट्रियताको सवालमा समान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो पनि औंल्याए।



प्रतिक्रिया दिनुहोस !