कांग्रेसले अडानसँगै संसदीय छानविन समितिको बैठक निष्कर्ष विहीन
काठमाडौं । संसदीय छानबिन समितिको बैठक निष्कर्ष बिहीन भएको छ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको हो ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले बैठक निष्कर्षविहीन भएको हो ।
सहमतिबाट विषयहरूलाई टुंग्याउने र संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनले भने, ‘विषयमा प्रवेश भएको छ, तर निष्कर्षमा पुगिसकेका छैनौँ । संसदको प्रक्रियाहरू अगाडि बढ्छ । त्यहाँ हुने प्रक्रियाले यहाँ समस्या गर्दैन ।’
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राखेपछि एमाले र रास्वपा त्यो कुरामा सहमत नभएको बर्तौलाले बताए ।
गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो ।








