सरकारी अस्पतालको सेवा सुधार गरेर देखाउँछुः स्वास्थ्यमन्त्री यादव
काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सबै सरकारी अस्पतालहरुको सेवामा सुधार ल्याउने बताएका छन् ।
बुधवार अपरान्ह स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित वीर अस्पतालको सबै शाखाको अनुगमन गरेपछि उनले सो प्रतिक्रिया दिएका हुन् । उनले आफूले वीर अस्पतालबाट सरकारी अस्पतालहरूको अनुगमनको काम सुरू गरेको उल्लेख गर्दै सबै अस्पतालहरूको अनुगमन गरी सुधार गर्ने दृढता व्यक्त गरे । त्यस क्रममा मन्त्री यादवले समयमै आफ्नो ड्युटीमा नआउने चिकित्सकहरुलाई तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।
त्यस क्रममा उनले तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सो अस्पतालबाट धेरै जनशक्ति हटाएको विषयमा चासो व्यक्त गर्दै त्यसबारे पनि खोजी गर्ने बताए । मन्त्री यादवले सेवाग्रहीलाई सहज सेवा उपलब्ध गराउन पनि वीर अस्पतालको व्यवस्थापनलाई सचेत गराए ।
मन्त्री यादवसहितको टोलीले अस्पतालको आकस्मिक सेवा, सर्जरी सेवा, फार्मेसी सेवालगायतको अनुगमन गरेको हो ।








