१२ श्रावण २०८१, शनिबार

भक्तपुरमा कोरोना संक्रमित बसेको घर र क्षेत्र सिल, ललितपुरमा आरोग्य फाउण्डेसनपनि बन्द

प्रकाशित मिति :  13 May, 2020 1:02 pm


काठमाण्डौं, ३१ वैशाख । 

भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया स्वस्थ्यकर्मी बसेको घर र क्षेत्र सिल गरिएको छ ।

कोरोना सङ्क्रमित महिला बसेको शंखधरचोकस्थित बस्ती प्रहरीले आज बन्द गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले करीब २० घर रहेको उक्त बस्तीलाई सिल गरेर नेपाल प्रहरीकै सुरक्षा गस्ती खटाइएको जानकारी दिए ।  सिल गरिएको बस्तीमा कसैलाई आउन र जान दिइएको छैन ।

त्यसैगरी सङ्क्रमित सशस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ । बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरी सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको उहाँले जानकारी दिए । उनको परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि आजै टेकु अस्पताल पठाइएको छ ।

काठमाडौँ उपत्यका बाहिर रहेका उनीहरु लकडाउनका बेलामा पूर्वी नाका हुँदै काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा पार गर्दै भक्तपुर आएका थिए ।

महानगरीय प्रहरी परिसरसहितको टोलीले कोरोना संक्रमित सशस्त्र प्रहरी बसेको घरका परिवार एवं उनी सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने काम शुरु भएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । परिवारका अन्यको पनि कोरोना परीक्षणको काम शुरु भएको छ ।

२५ वर्षीया कोरोना संक्रमित महिला सुनसरीबाट मोटरसाइकलमा पास बनाएर यही वैशाख २९ गते भक्तपुर आई मध्यपु्रथिमि शंखधर चोकमा बस्दै आएकी नर्स,साथीको कोठामा गएर बसेको पाइएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । सुनसरी, रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएकी उनी ललितपुरमा रहेको आरोग्य फाउण्डेशनको निदान अस्पतालमा कार्यरत भएको पुष्टि भएको छ ।

महिला सुनसरीबाट आउँदा नै संक्रमित भएर आएको हुन सक्ने अनुमान गरिएको छ । संक्रमित महिलासंँगै बसेकी नर्स भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत रहेको खुलेको छ । उक्त अस्पतालमा आकस्मिक कक्षमा कार्यरत नर्सलाई आजै भक्तपु्र अस्पतालमा स्वाब संकलन गरी टेकु पठाइएको छ ।

उनलाई भक्तपुर अस्पतालकै आइसोलेशन वार्डमा राखिएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतमले नर्सलाई भक्तपुर अस्पतालमा स्वाब संकलन गरी आइसोलेशनमा राखिएको पुष्टि गरिन् ।

मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स यही वैशाख २६ गतेदेखि काममा नगएकाले अस्पतालमा संक्रमणको जोखिम नरहेको अनुमान गरिएको छ । यस्तै कोरोना संक्रमित महिला कार्यरत रहेको ललितपुरको आरोग्य पाउण्डेसन पनि सिल गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !