३ असार २०८१, आइतबार

गणतन्त्रमा पूर्वाधारले बिस्तारै फड्को मार्दै छ: मन्त्री शर्मा

प्रकाशित मिति :  23 May, 2024 6:19 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले पूर्वाधारमा बिस्तारै फड्को मार्न थालेको बताएकी छन् ।

गणतन्त्र स्थापनाको अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस) ले काठमाडौँको भद्रकालीमा ‘गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले गणतन्त्र स्थापना भएको १५ वर्षमा ठुला पूर्वाधार विकास निर्माण भएकाले निक्कै धेरै काम भएको चर्चा गरिन् ।

सरकारले जेठ १५ गते गणतन्त्र स्थापना भएको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सोही अवसरमा राससले समेत बिहीबार(जेठ १० गतेदेखि जेठ १६ गतेसम्म गणतन्त्र स्थापना भएपछि निर्माण भएका पूर्वाधार विकासका ९० तस्बिर राखेर आफ्नै प्राङ्गनमा प्रदर्शनी राखेको छ ।

मन्त्री शर्माले सरकारले सामाजिक न्याय र सुशासनको नारा ल्याएपछि धेरै काम गर्न सफल भएको उल्लेख गरिन् । “हामीले लडेर जुन व्यवस्था स्थापना गर्न सफल भयौँ । यो व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य निर्माण गर्न सफल भयौँ । हामीले गणतन्त्र दुख र कष्ट गरेर प्राप्त गरेका हो । संविधान र कानुनमा धेरै राम्रा व्यवस्था उल्लेख छन् । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न कानुन निर्माण गर्नुपर्ने छ” उनले भनिन्, “गणतन्त्रमा जतिसुकै पदीय हैसियतमा भए पनि गल्ती गर्छ भने छुट हुँदैन भन्ने जर्बस्त भाष्य निर्माण गर्न सफल भयौँ । आमजनतामा बढ्दै गएको निसासा चिर्न सफल भयौँ । गणतन्त्र भएकाले कानुन छ भन्ने स्थापित गर्न सफल भयौँ ।”

उनले गणतन्त्र भएकैले सबैलाई कानुनी दायरामा ल्याउन सफल भएकोले गल्ती गर्ने छुट कसैलाई नभएको उल्लेख गरिन् । राजतन्त्रमा बोल्न, लेख्न र स्वतन्त्रपूर्वक हिड्डुल गर्न नपाउने भएकाले जनताको बलमा गणतन्त्र ल्याएकाले सबैले निर्भिकतापूर्वक स्वतन्त्रता उपभोग गर्न पाएको उनले बताइन् ।

तत्कालीन सञ्चार मन्त्री कृष्णबहादुर महरा हुँदा ‘हात हातमा मोबाइल घरघरमा इन्टरनेट ’भन्ने नारा ल्याउँदा धेरैले नपत्याएको उल्लेख गर्दै मन्त्री शर्माले अहिले हात हातमा ल्यापटप हुँदै प्रविधि एआई सम्म पुगेको बताइन्। मन्त्री शर्माले भनिन् “अहिले गाउँघर टोल टोलमा बाटाहरू र विकास निर्माणका पुगेका छन् । त्यसमा सबैभन्दा बढी भूमिका स्थानीयता र प्रदेशको छ । हामीले सोचे जति विकास गर्न नसके पनि धेरै सुविधा गाउँमा पु¥याउन सफल भयौँ ।”

भारत र चीन दुई छिमेकी देशमा एउटै व्यक्तिले लामो शासन गरेर विकासमा धेरै फड्को मारेको बताउँदै मन्त्री शर्माले नेपालमा एउटै व्यक्तिले तीन वर्षसम्म पनि शासन गर्न नपाउँदा धेरै काम गर्न नसकिएको स्वीकार गरिन् ।



प्रतिक्रिया दिनुहोस !