४ असार २०८१, सोमबार

संसद्को गरिमा र ओज खस्कँदै गएको छ: पूर्वसभामुख सापकोटा

प्रकाशित मिति :  25 May, 2024 4:11 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओज खस्कँदै गएको बताएका छन् । शनिबार काठमाडौँमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठन बागमती प्रदेश समिति, काठमाडौँको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसद्‌मा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहीन, मर्यादाहीन भएको बताए । संसद् कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्त्वपूर्ण संवाहक भए पनि संसद्मा राम्रोसँग संसदीय गतिविधिहरू सञ्चालन हुन नसकेको बताए ।

उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको बताए । सापकोटाले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोक बिना संसद्मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको समेत बताए । उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए ।

सापकोटाले भने, “अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल, पेचिलो परिस्थिति पैदा भएको छ । भर्खरै मात्र हाम्रो पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुभएको छ । भर्खरै नयाँ बनेको समीकरणमा खासै त्यस्तो ठुलो समस्या छैन । तर पनि सदन सुचारु गर्नका लागि दिनदिनै छलफल चलिरहेको छ । अहिले पनि छलफल जारी छ । नेतृत्व तहमा पनि छलफल चलिरहेको छ । भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ ।”

उनले २०८१ सालमा प्रस्तुत गर्ने बजेट सदनमा निर्विघ्नतापूर्वक प्रस्तुत हुने आशा समेत व्यक्त गरे । सापकोटाले अहिले देशमा एकातिर अराजकताको स्थिति, अर्कातिर प्रियतावादको रुझान र अस्तव्यस्तताको स्थिति देखिएको बताए ।

उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी र उकुसमुकुस वातावरणमा रहेको बताउँदै विचारहीनको स्थिति सिर्जना भएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !