४ असार २०८१, सोमबार

अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज छ: पूर्वप्रधानन्यायाधीश कार्की

प्रकाशित मिति :  25 May, 2024 9:48 pm


काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताएकी छन् ।

शनिबार लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा कार्कीले न्यायालय र न्याय क्षेत्रमा अहिले धेरै सुविधा भएको बताएकी हुन् ।

उनले भनिन्, “अहिले त कति सुविधा छ, कति सुविधा छ न्याय क्षेत्रमा काम गर्नलाई । न्याय क्षेत्रमा काम गर्नलाई अहिले धेरै सुविधा छ । म पनि बाँसको कलमले नै वकालत सुरु गरेर आएकी हुँ । म जाँदा २०३५ सालमा बाँसका कलमले लेखिन्थे । अदालतमा जम्मै हातले सारिन्थे । अहिले त त्यस्तो छैन । दुनियाँ यति सजिलो छ काम गर्नलाई ।”

कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति परमानन्द झाले काठमाडौँमा जन्मिएका र न्याय क्षेत्रको पैरवी गर्नेहरू काठमाडौँ छोड्न राजी नहुने समयमा श्रेष्ठले काठमाडौँ बाहिर जाने आँटले नै स्थापित व्यक्तित्व बनाएको बताए । उनले श्रेष्ठको जीवन सादगी र मायालु रहेको बताए ।

उनले भने, “शारदा श्रेष्ठज्यूको जीवन असाध्यै सादगी र असाध्यै मायालु जीवन हो । उहाँ टाढा टाढाका साथीहरूलाई पनि कहिले कहीँ भेट हुँदा पनि अपनत्वका साथ पूरा गर्नुहुन्छ । उहाँ सहनशील हुनुहुन्छ । उहाँलाई जति बेला काठमाडौँ छोडेर अन्यत्र काममा जान आदेश आयो, सरक्क जानुभयो । काठमाडौँमा जन्मिएका न्याय सेवाका कर्मचारीहरू काठमाडौँ छोडेर बाहिर जानु भनेको राजीनामा दिन तयार छु तर काठमाडौँ बाहिर जान्न भन्ने पनि थिए । त्यो बेलामा उहाँले काठमाडौँ छोडेर बाहिर जोन आँट गर्नुभयो, त्यो नै उहाँलाई स्थापित गर्ने अवसर थियो ।”

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अहिले महिलाहरूले पहिलाको भन्दै धेरै अधिकार पाएको बताए । उनले महिलाहरूले आफ्ना हक अधिकार पाउन शारदा श्रेष्ठ लगायतका पूर्वन्यायाधीशहरुको महत्त्वपूर्ण भूमिका रहेको जिकिर गरे । उहाँले आयोगले पनि महिलाको हक अधिकार प्राप्त गर्न र दिन विभिन्न कामहरू गर्दै आइरहेको बताउनु भयो । नेपालका प्रथम महिला न्यायाधीश एवं पुस्तकका लेखक शारदा श्रेष्ठले पुस्तक केही समयअघि नै लेखिसकिएको भए पनि केही कारणवश ढिला गरी विमोचन भएको बताइन् । उनले पुस्तकले न्याय क्षेत्रमा लाग्ने न्यायकर्मीहरूका लागि दिशा निर्देश गर्ने अपेक्षा राखेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !