४ असार २०८१, सोमबार

काठमाडौँ महानगरपालिकाले न्युरोडमा गरेको क्रियाकलाप कानुनसम्मत छैनः मन्त्री महासेठ

प्रकाशित मिति :  26 May, 2024 5:17 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौँ महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताएका हुन् । उनले काठमाडौँ महानगरपालिकाको मेयर बालेन साहले फेसबुक स्टाटसमा लेखेको कुरामा कुनै सत्यता नभएको पनि बताए ।

शनिवार मेयर साहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड बिस्तारको नाममा महानगरवासीले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको भनि लेखेका थिए ।

उनले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगाडि फोहोर राखिदिएको भिडियो हालेका थिए । यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर साहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताए ।

उनले रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए ।

उनले न्युरोडमा भएको तोडफोडलाई सडक विभागले रोकेको बताए ।



प्रतिक्रिया दिनुहोस !