४ असार २०८१, सोमबार

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल सुरू

प्रकाशित मिति :  27 May, 2024 4:21 pm


काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल सुरू गरेको छ ।

समितिले सोमबारदेखि नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल सुरू गरेको हो ।समितिले चारवटा दफामा छलफल गरेको छ । दफावार छलफलको पहिलो दिन समितिले दफा १ को संक्षिप्त नाम र प्रारम्भ, दफा २ को परिभाषा, दफा ३ को विश्वविद्यालयको स्थापना र दफा ४ को विश्वविद्यालय स्वशासित र संगठित संस्था हुने सम्बन्धमा छलफल भएको छ ।

छलफलमा भाग लिँदै सांसदहरूले सम्बन्धित दफाहरूमा आ–आफ्नो धारणा राखेका छन् भने समितिका संशोधनकर्ता सांसदहरूले पनि आ–आफ्नो धारणा राखेका छन् । समिति सभापति अम्मरबहादुर थापाले चारवटा दफामा छलफल भएको भए पनि कुनै निष्कर्ष ननिस्किएको बताए । उनले छलफललाई जारी राख्ने र संशोधनकर्ताले उठाएका कुराहरूलाई मध्यनजर गर्दै निष्कर्षमा पुगिने पनि जानकारी दिए ।

राष्ट्रिय सभाबाट प्रतिवेदनसहित पारित भएर आएको सो विधेयकको सम्बन्धमा सांसदहरूले एकल र संयुक्त रूपमा १९ वटा संशोधनको प्रस्ताव दर्ता गरेका थिए । समितिले संशोधनकर्ताहरूसँग छलफल गरिसकेको छ । समिति सभापति थापाले अब सो विधेयकको सम्बन्धमा दफावार छलफल निरन्तर अगाडी बढ्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !