२१ बैशाख २०८१, शुक्रबार

सीमा अतिक्रमण विरुद्ध सबै दलको एउटै स्वर, अतिक्रमित भूमि फिर्ताका लागि तत्काल पहल गर्न सुझाव

प्रकाशित मिति :  13 May, 2020 8:53 pm


काठमाण्डौं, ३१ वैशाख ।

सबै राजनीतिक दलले भारतद्धारा अतिक्रमित भूमि फिर्ताका लागि तत्काल पहल थाल्न सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा सबै राजनीतिक दलका नेताले राष्ट्रियताको विषयमा एउटै धारणा राख्दै अतिक्रमित भूमि फिर्ताका लागिका लागि आफूहरुको साथ रहेको समेत बताएका छन् ।

सर्बदलीय बैठकपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने,‘ सबै राजनीतिक दलका नेताहरुले एकै स्वरमा नेपाली भूमिमा जे भईरहेको छ, अहिले जे विवाद देखिएको छ त्यो नेपालको भूमि हो र तत्काल फिर्ता ल्याउनुपर्छ भन्नुभएको छ ।’

जवाफमा प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि जसरी पनि फिर्ता ल्याउने बताएका छन् । उनले पुर्खाले लडेर बचाएको भूमिलाई थप अडेर बचाउनुपर्नेमा जोड दिए ।

परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले भारतसँग असल छिमेकीको सम्बन्ध चाहेको तर आफ्नो राष्ट्रियताको रक्षा र भूमिको रक्षा सर्वोपरी भएको बताएका थिए । प्रधानमन्त्रीले छलफलमा कूटनीतिक माध्यमबाट बार्ता गरेर समस्या समाधान गर्नुनै सबैभन्दा राम्रो विकल्प भएको बताएका परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए ।

छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दल,पूर्वप्रधानमन्त्री,वरिष्ठ मन्त्री लगायतको सहभागिता थियो । परराष्ट्र मन्त्री ज्ञवालीले सीमा समस्या समाधानका लागि भारतसँग पटकपटक वार्ताको प्रस्ताव गरेपनि पछिल्लो समय कोरोनाका कारण देखाएर टारेको बताए ।

तर कोरोनाकै बेला विवादित क्षेत्रमा सडक उद्घाटन गर्नु ठिक नभएको मन्त्री ज्ञवालीको भनाई थियो । सरकारले उक्त क्षेत्रमा सरकारको उपस्थिति जनाउन काम सुरु गरिसकेको र त्यसकै प्रयास स्वरुप आज बीओपी स्थापना भएको बताए । बाटो निर्माणको कामपनि सुरु भएको ज्ञवालीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !