श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ विनियोजन
प्रकाशित मिति : 28 May, 2024 4:14 pm
काठमाडौँ । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ रकम विनियोजन गरेको छ । अगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले रोजगार बैंकको स्थापना गरी रोजगारी सम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गरिने बताएका छन् ।
त्यस्तै श्रम बजारमा उपलब्ध रोजगारीको अवसर तथा जनशक्तिको माग र आपूर्तिलाई स्वचालित प्रणालीमा आवद्ध गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
त्यसैगरी श्रम र रोजगारी सम्बन्धी सेवा प्रवाह र गुनासो सम्बोधनका लागि श्रमाधान कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।








