लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षमा खनाल
देउखुरी । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा बाणगंगा नगरपालिका–८, कपिलवस्तु निवासी सरोज खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा अनुभवप्राप्त हुन्।
निवर्तनमान उपाध्यक्ष डा. नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयोग पदाधिकारीविहीन थियो । खनाल यसअघि आयोगका सदस्य थिए।
बैठकले प्रदेश सरकार मातहतका विभिन्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई हेरफेर गर्ने निर्णय गरेको छ ।
भीम अस्पतालका भैरहवाका डा. मोहम्मद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा. शकुन्तला गुप्तालाई लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा सरुवा गर्ने निर्णय वैठकले गरिएको छ।
गुल्मी अस्पतालमा कार्यरत किशोर बन्जाडेलाई कपिलवस्तु अस्पतालमा, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा डा. इन्द्र ढकाललाई नियुक्त गर्ने निर्णय गरिएको हो ।
मुख्यमन्त्री महराको पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रूपमा सुशान्त वैदिकलाई नियुक्त गर्ने निर्णयसमेत गरिएको हो ।
बैठकले जेठ २१ गते आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम ल्याउने निर्णयसमेत गरेकाे छ ।








