१२ श्रावण २०८१, शनिबार

खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्न सरोकारवालाकाे जाेड

प्रकाशित मिति :  7 June, 2024 12:48 am


काठमाडौँ । खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्दै खाद्य सुरक्षाको सवाललाई प्रभावकारी बनाउन सरोकारवालाहरूले जोड दिएका छन् ।

हिजो (बिहिवार) विश्व खाद्य दिवसको पूर्वसन्धायमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा खाद्य सुरक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले उक्त कुरालाई जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले स्वच्छ खाना खान पाउने सम्पूर्ण आम नागरिकको अधिकार रहेको बताउँदै मन्त्रालयले त्यसतर्फ काम गर्दै आएको बताएका छन् । उनले खाद्य सुरक्षा बहुआयमिक विषय भएकोले यसको अवस्था सुधारका लागि बहुक्षेत्रिय समन्वय र सहकार्यबाट मात्र सम्भव हुने बताए । उनले भने, “यसका लागि व्यक्ति, परिवार, समुदाय तथा राज्यका तीनै तहका निकायहरू सदैव प्रयासरत रहनु पर्ने दायित्व रहेका छ ।”

उनले विभागले स्थानीय, प्रदेश र संघ सरकारसँग सहकार्य गरेर स्वच्छ खाद्य सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम गर्न आजकाे आवश्यकता रहेकाे बताएका छन् । उनले भने, “केही समयपछि वर्खाको सयम आउँदैछ र खाद्य जोखिम पनि उत्तिकै आउँछ त्यसैले तीनै सरकारले यस्ताे समयमा सम्वन्य गरेर जनतालाई बचाउन आवश्यक छ ।”

उनले मुलुकमा देखापरेको खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्दै खाद्य सुरक्षाको सवाललाई प्रभावकारी बनाउन सरोकारवालाहरूले उच्च पहलकदमी लिनुपर्ने बताए ।

संविधानले मौलिक हक अन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने उपभोक्ताको हकको व्यवस्था गरेको छ। तसर्थ खाद्य स्वच्छता र गुणस्तरीयताको नियमन कार्यलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन संघीय संसदले “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” जारी गरेको छ। यस ऐनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृंखलाका सबै चरणमा बैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको नियमनको कानूनी व्यवस्था गरेको उनले बताए ।

उनले भने, “ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित खाद्य व्यवसायी, सरकारी एवं गैर सरकारी संघसस्था, उपभोक्ता हकहितसँग सम्वन्धित संघसस्था, लगायतका सरोकारवालाहरूको महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” जारी भएपनि प्रदेश र स्थानीय तहमा खाद्य सम्बन्धी जनचेतना कार्यक्रम नगरेसम्म ऐन कार्यन्वयनमा ल्याउन सहज नहुने बताएकी हुन् । उनले खाद्य सुरक्षा राज्यको अर्थतन्त्रसँग जोडिएकाले तीनै तहले यसमा जोड दिन आवश्यक रहेको बताइन् ।

उनले विभिन्न जोखिमबाट हुन सक्ने अप्रत्याशित अवस्थाको पूर्वतयारी गर्न खाद्य स्वच्छतामा लगानी अभिवृद्धि गर्दै जोखिम न्यूनीकरणका लागि खाद्य श्रृंखलाको प्रारम्भिक उत्पादन देखि प्रशोधन, सञ्चयन, ढुवानी, बिक्रीवितरण र उपभोगसम्मको प्रत्येक चरणमा सम्लग्न सबै सरोकारवालाको अहम् भूमिका रहने बताइन् ।

‘खाद्य स्वच्छतामा लगानी बढाऔँ अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौँ’ भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा विगत झैं यो वर्ष पनि जून १ (शनिवार) सप्ताहव्यापी कार्यक्रम सुरू गरिएको थियाे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विश्व खाद्य स्वच्छता दिवसको नारा तथा खाद्य स्वच्छता सम्वन्धी सूचना सन्देशका चेतनामूलक पर्चा पम्प्लेट प्रकाशन तथा वितरण गरि प्रचार प्रसार गर्ने कुरामा जोड दिएको थियाे ।

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छी खाद्य पदार्थमा एण्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विशालुको समस्या रहेको औल्याउदैँ स्वास्थ्य तथा सवल जनशक्ती राष्ट्र निर्माणको महत्वपुर्ण आधार स्तम्भ भएकोले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपान अपरिहार्य रहेको विभागले जनाएको छ ।

खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले पन्ध्र वर्ष अघि देखि सुरू गरेको खाद्य स्वच्छता दिवसको अभियानलाई समर्थन हुने गरी कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठन को प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो ।

विभागले विगतजस्तै यो वर्ष पनि सप्ताहव्यापी रूपमा दिवस मनाएर आज विभिन्न उपभोक्ता हकहितसँग सम्बन्धित संघ संस्थाहरू, खाद्य उद्योगहरू, खाद्य प्रविधि विषय अध्ययन अध्यापन हुने कलेजहरू, खाद्य तथा पोषणसँग सम्बन्धित संघ संस्थाहरू लगायत पत्रकारहरू समेतको सहकार्य र सहभागितामा प्रभातफेरी कार्यक्रम गर्ने विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !