१२ श्रावण २०८१, शनिबार

जोखिममा रहेका ३७ जना बालबालिकाको उद्धार

प्रकाशित मिति :  8 June, 2024 12:27 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरूमा संरक्षण दिएको छ ।

शुक्रबार बसेको ‘महानगर बाल अधिकार समिति’ को बैठकमा बाल उद्धार टोलीले यस सम्बन्धी जानकारी गराएको छ । यसरी उद्धार गरिएका बालबालिकाहरु घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेकारसंरक्षणको आवश्यकता भएका) का बालबालिकाहरुले आफू जोखिममा रहेको खबर गरेपछि उद्धार गरिएको हो ।

जोखिममा रहेका बालबालिकाहरूलाई रातो, पहेँलो र हरियो वर्गमा राखिने गरिएको छ । १२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिंसा तथा दुर्व्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो वर्गमा राखिन्छ ।

दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौच गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो वर्गमा राखिन्छ ।

मायालु व्यवहार र बोली बचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो वर्गमा राखिएको छ । यीमध्ये अहिले रातो वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको उद्धार टोलीले जनाएको छ ।

बालबालिकाहरूको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटेल रेस्टुरेन्ट तथा होस्टलमा रहेका बाल श्रमिक र आफ्ना नातागोता बाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिकासम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरूले बालबालिकाको अवस्था पत्ता लगाएका हुन् । यस कार्यका लागि ३१ जना इन्टर्नहरु खटिएका छन् ।

यसरी प्राप्त विवरण र बालबालिकाबाट प्राप्त जोखिममा परेको सूचनाका आधारमा खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरीसहित सरोकारवालासहितको बाल उद्धार कार्यदलमार्फत शोषण, दुर्व्यवहार र जोखिममा परेका बालबालिकाको उद्धार गरिने गरिएको छ ।

उद्धार गरेर ल्याइएका बालबालिकालाई अस्थायी संरक्षण गृहमा संरक्षण दिइन्छ । संरक्षण गृहमा बालबालिकाले भोग्नुपरेका समस्याहरू सुन्ने, मन परामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता प्रदान गरिने महानगरले जनाएकाे छ ।

यसपछि बालबालिकाका अभिभावकको खोजी गरिन्छ । परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनर्स्थापना गराउन सकिने अवस्था छ कि छैन लेखाजोखा गरिने, परिवार पत्ता नलागेमा र बालबालिकालाई परिवारमा फर्काउँदा बालबालिकाको सर्वोत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था रहेकाे महानगरले जनाएकाे छ ।

हिंसा पीडित, जोखिममा परेका बालबालिका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हकहित र अधिकारको सम्मान, संरक्षण, प्रवर्धन, बालशोषण जस्ता आपराधिक कार्य गर्ने अपराधीलाई न्यायिक प्रक्रियाबाट उचित दण्ड जरिवाना, शोषणमा परेका बालबालिकालाई न्याय तथा क्षतिपूर्तिको व्यवस्था गर्ने कार्यहरू बाल संरक्षणका दायित्व हुन् ।

नीतिमा बालबालिकाको आवाज

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं महानगर बालअधिकार समितिकी संयोजक सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१\८२ का लागि तर्जुमा गर्ने नीतिमा बालबालिकाको आवाज सुनिश्चित गर्ने बताएकी छन् । बैठकमा उनले बालबालिकाका लागि बनाइने नीतिमा बालबालिकालाई नै सहभागी गराउनुपर्ने बताइन् ।

‘बालबालिका वचावट, बाल संरक्षण र बाल अधिकारका लागि कुनै पनि सम्झौता, ढिलाइ वा प्रतिक्षा हुँदैन । तत्काल गर्नुपर्छ’ उनले भनिन्, ‘वडा बाल समिति तत्काल गठन गरौँ । बाल कोष स्थापना, सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाऔँ । आचारसंहिता जारी गरौँ ।’

बैठकले महानगरपालिकाभित्र रहेका बाल संरक्षण, बाल अधिकारको प्रचलन, प्रवर्धन र विकासका क्षेत्रमा क्रियाशील निकायलाई तथा सङ्घसंस्थालाई सूचीकरण गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘बालबालिकाको संरक्षणात्मक कार्य हाम्रो दायित्व हो । यसका लागि सरोकारवाला निकाय र सङ्घसंस्थाहरू सँगै हिँड्नुपर्छ ।’ छलफलमा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले, बालबालिकाका लागि छुट्टै हटलाइन टेलिफोन व्यवस्था गर्नु पर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !