१२ श्रावण २०८१, शनिबार

आँधीखोला उत्खननमा वालिङलाई प्रशासनको रोक

प्रकाशित मिति :  9 June, 2024 11:59 am


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने आँधीखोला अस्वाभाविक रूपले उत्खनन् गर्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले रोक लगाएको छ ।

प्रशासनले आँधीखोलाको वातावरणीय परीक्षण मूल्याङ्कन नगरी उत्खनन् नगर्न पालिकालाई अनुरोध गरेको हो । वालिङ नगरपालिकाले भुम्रे—अर्चबोट—तमादी—डुम्रेभञ्याङ्—बोनीडाँडा हुँदै सेतीवेणी गुल्मी सडक निर्माणका लागि चाहिने निर्माण सामग्री उत्खनन् गर्न निर्माण कम्पनीलाई नगरपालिकाले अनुमति दिएको थियो ।

ठेकेदार कम्पनीको अनुरोधका आधारमा सडक विभागले उक्त सडकलाई आवश्यक पर्ने झण्डै २५ हजार घनमिटर निर्माण सामग्री उपयुक्त स्थानबाट व्यवस्था गरिदिन अनुरोध गरेपछि नगरपालिकाले आँधीखोला उत्खनन् गर्न अनुमति दिएको थियो ।

वातावरणीय परीक्षण मूल्याङ्कन नै नगरी नगरपालिकाले डोजर लगायत ठुला उपकरण मार्फत उत्खनन् गर्न अनुमति दिएपछि प्रशासनले हाललाई उक्त कार्य नगर्न भनेको हो ।

नगरपालिकाले पठाएको पत्र अनुसार जुन स्थानहरूबाट निर्माण सामग्री उत्खनन् गर्ने हो उक्त स्थानहरूमा इआईए नगरिएको देखिएकाले उत्खननमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !