१२ श्रावण २०८१, शनिबार

ओलीलाई आलेको सुझाव: संसद् विघटनको कुरा नकोट्याए हुन्थ्यो

प्रकाशित मिति :  10 June, 2024 2:22 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद् विघटन गरेको भनी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नयाँ सत्ता समीकरण बनाएर हिँडिरहेका बेला त्यस्तो कुरा नकोट्याउनु उपयुक्त हुने धारणा राखेका हुन् ।

सांसद आलेमगरले आफू समेत बस्ने साझा घर भत्काए जसरी ओलीले पार्टीमा झगडा भयो भनेर प्रतिनिधि सभा विघटन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

त्यस अवसरमा सांसद आलेमगरले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा इमानदार भएर लाग्न पनि कर्मचारीतन्त्रलाई आग्रह गरे।

उनले भने, ‘बजेट कार्यान्वयनका लागि इमानदारिता चाहियो । यो इमानदारिता हामी राजनीतिकर्मीहरू त केही दिनका पाहुना हौँ । स्थायी सरकारले यो काम गर्नुपर्ने हुन्छ । यसका लागि स्थायी सरकार इमानदार देखिनुपर्छ भन्ने मलाई लाग्छ । त्यसका लागि म आग्रह गर्न चाहन्छु । जुन जुन निकाय त्यसका लागि जिम्मेवार हुन्छ । उहाँहरूको ध्यान यसमा पुगेस् भन्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस !