१२ श्रावण २०८१, शनिबार

सरकारलाई सांसद बेल्बासेको दबाबः दुध किसानको भुक्तानी छिटो दिइयोस्

प्रकाशित मिति :  10 June, 2024 4:32 pm


काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी) केन्द्रका राष्ट्रिय सभाकी सांसद गंगाकुमारी बेल्बासेले दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् ।

दुग्ध संस्थानले उनीहरूको भुक्तानी नदिएको गुनासोसहित किसानहरूले फेरि काठमाडौँमा सरकारबिरुद्ध अभियान संचालन गर्ने तयारी गरिरहेका बेला सांसद बेल्बासेले सो कुरा बताएकी छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले दुध किसानका जायज मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने बताइन्। सांसद बेल्बासेले दुग्ध विकास संस्थालगायतका संस्थाहरूलाई चुस्तदुरुस्त बनाउन पनि सरकारलाई सचेत गराइन् ।

उनले भनिन्, “दुध किसानहरू आफ्नो समस्या लिएर काठमाडौं आएको समाचारहरु बारम्बार सुनि राखिएको छ । यतिखेर पनि त्यो कुरा उठेको छ । सडकमा दुध पोख्ने किसानका कुरा हुन् कि किसानले पाउनुपर्ने दुधको मूल्य नपाएको कुरा सही हो । त्यो किसानहरुले नै भनेको र उनीहरू स्वयमले उठाएको कुरा हो । यति रकम पाउन बाँकि छ भनेर उहाँहरूले भनिराख्नुभएको छ । त्यसको व्यवस्थापन छिटो गरियोस् ।”

सांसद बेल्बासले सरकारी संस्थानहरुमा सुधार नभएकाले कारणले जनताले दुःख पाउने गरेकाले त्यसको सुधारमा सरकारले विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !