१२ श्रावण २०८१, शनिबार

अहिलेको समावेशितालाई कुनैपनि शासक वर्गले चाहँदा उखेलेर फाल्नसक्छः अध्यक्ष यादव

प्रकाशित मिति :  11 June, 2024 11:37 am


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको समावेशिता शासक वर्गले चाहेसम्म मात्रै रहने किसिमको रहको बताएका छन् ।

सोमवार जनकपुरमा सुरू भएको पार्टीको राष्ट्रिय महाधिवेशनको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले केही हदसम्म मात्रै समावेशिता रहेको र समावेशिता कुनै पनि शासक वर्गले चाहेको खण्डमा उखेलेर फालिदिन सक्ने किसिमको रहेको बताए । उनले अहिले पाएका अधिकारलाई बचाउन र मजबुत बनाउन लाग्नुपर्ने बताए । दुई तिहाईभन्दा बढी सीमान्तकृत जनता दिनदिनै पछाडी पारिँदै आएकाले मुलुक पछाडी पर्दै आईरहेको बताए ।

अध्यक्ष यादवले सीमान्तकृत समुदायलाई पछाडी पारिएकाले मुलुक गरिबीतर्फ धकेलिँदै गइरहेको र दुई तिहाईभन्दा बढी जनसंख्या रहेको सीमान्तकृत समुदायलाई पछाडी पार्दा मुलुक कुनैपनि हालतमा विकसित मुलुक तथा समाजवादतर्फ अग्रसर हुन नसक्ने बताए ।

उनले भने, “आज केही हदसम्म समावेशिता छ । तर यो पनि यति कमजोर छ की यसलाई शासक वर्गले चाहने हो भने उखेलेर फालिदिन सक्छ । जो अधिकार प्राप्त भएका छन्, त्यसलाई बचाऔँ । त्यसलाई अझै मजबुत गरौँ । जो बाँकी छ, त्यसलाई पाउन संघर्षबाट अघि बढौँ । हाम्रो संघर्ष, विभेद, असमानता हुन नदिनका लागि हुनुपर्छ ।”

अध्यक्ष यादवले मधेस आन्दोलन नभएको भए मुलुकमा संघियता, गणतन्त्र नेपालमा कहिल्यै नआउने बताउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्नका लागि निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गरे ।

सोमवारबाट जनकपुरधाममा सुरू भएको जसपा,नेपालको एकताको राष्ट्रिय अधिवेशनको बन्दसत्र आज (मंगलवार) बिहानबाट सुरू भएको छ । बन्दसत्रमा जसपा नेपालका अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !