६ असार २०८१, बुधबार

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेद्वारा शपथग्रहण

प्रकाशित मिति :  11 June, 2024 5:26 pm


काठमाडाैँ । छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गरेका हुन् । गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । उनीसँगै मन्त्री परिषद्का ११ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका हुन् ।

विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुंगेल, पुरनकुमार गुरुङ, पिन्ट्सो नामग्याल लेप्चा, नर बहादुर दहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रुपमा शपथ ग्रहण गरे ।

सिक्किममा गत १९ अप्रेल २०२४ मा सम्पन्न विधानसभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ सिटमध्ये ३१ सिटमा जीत हासिल गरेपछि गोलेको नेतृत्वमा नयाँ सरकार गठन भएको थियाे ।

शपथग्रहणपछि बोल्दै मुख्यमन्त्री गोलेले आफू सरकारमा आएपछि सिक्किम–नेपालको सम्बन्ध बिस्तार गर्न धेरै पहलहरू भएको बताए । उनले चिवा भञ्ज्याङ् सीमालाई सुचारु गराउन सिक्किम तर्फको सडक निर्माण लगायतमा कामहरु बाँकी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !