२० मंसिर २०८२, शनिबार

प्रतिनिधिसभा बैठक शून्य समय: कसले के भने ?

प्रकाशित मिति :  12 June, 2024 1:35 pm


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जनसरोकारका विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले जनसरोकारका महत्वपूर्ण विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म पनि अन्तर्राष्ट्रिय विमान उडान हुन नसक्नुको कारण के हो ? भनि प्रश्न गरे । उनले सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले सरकारी अस्पतालमा अपरेशन गर्नका लागि महिनौँसम्म कुर्नुपर्ने अवस्था रहेको बताए । उनले समयमै उपचार गर्नका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र जनशक्ति व्यवस्थापको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभा सदस्य मेनकाकुमारी पोखरेलले सेना, प्रहरीहरू हिंसाको घटनामा संलग्न रहने गरेका भन्दै उनीहरूलाई तालिम दिँदा नै मनोविमर्श पनि दिनुपर्ने बताए ।

“सेना, प्रहरीजस्तो निकायबाट हिंसाका घटनाहरु हुने गरेका छन् । दाङमा मात्र ३ वटा घटना घटेका छन्, विभत्स घटना । यस्ता घटना घट्न नदिन मनोविमर्शको कुरालाई पनि पाठ्यक्रम बनाएर स्कुलबाटै मनोविमर्शका कुरा लिएर जानुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराउँदछु”,उनले भने ।

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारी नुन खाँदाखाँदै विदेशीको नागरिकता लिएका कर्मचारीहरु रहेका भन्दै उनीहरू लाई चिन्न पाउनुपर्ने बताए । उनले त्यस्ता कर्मचारीहरूलाई कारबाही गरेर संसदलाई जानकारी गराउन माग गरे ।

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले सरकारले ११ जना राजदुतलाई बिना कारण फिर्ता बोलाउनु कुटनीतिक असक्षमता भएको बताए । उनले राजदुतहरू संसदीय सुनुवाई समितिमा सुनुवाई र अनुमोदन भएपछि मात्रै नियुक्त हुने गरेका भन्दै यसरी फिर्ता बोलाएको कुरा समितिलाई समेत ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको सम्बन्धमा संसदलाई जानकारी दिनुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा प्रोटोकल बाहिरको मान्छेसमेत उपस्थित रहेको भन्दै यसबारे पनि जवाफ माग गरे ।

प्रतिनिधि सभा सदस्य रोशन कार्कीले मन्त्रीहरूले आफ्नो जिल्लामा मात्रै बजेट लगेका भन्दै मन्त्रीहरूको बजेट फिर्ता गराएर बजेट शुन्य बनाउनुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य लालविर चौधरीले साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानबाट किसानहरुले प्रत्यक्ष रुपमा मल पाउने व्यवस्था गर्न माग गरे ।



प्रतिक्रिया दिनुहोस !