प्राकृतिक विपत्तिबाट बच्न एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्छः योगेश भट्टराई
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले प्राकृतिक विपत्तिबाट बच्नका लागि एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले पहाडी र हिमाली जिल्लाहरू प्राकृतिक विपत्तिको उच्च जोखिममा भएको भन्दै सुरक्षाका लागि एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । उनले विपद् प्राधिकरणलाई स्रोत, साधन र जनशक्तिको अभाव हुन दिनु नहुने पनि बताए ।
उनले भने, “विपद् प्राधिकरण जो हामीले बनाएका छौँ, त्यसमा पर्याप्त मात्रामा जनशक्ति, साधन, स्रोतको अभावको कारणले समयमै उद्दार गर्नसक्ने अवस्था बनिरहेको छैन दुर्गम पहाडी जिल्लाहरुमा यसप्रति सरकारको ध्यान जाओस् । पहाडी, हिमाली जिल्लाहरु प्राकृतिक विपत्तिको उच्च जोखिममा छन् । ति जिल्लाहरुको जनजीवनलाई सुरक्षित आवास गर्नको निम्ति एकीकृत बस्ती विकासको कार्यक्रमतिर जानुपर्छ भन्ने सरकारको समेत ध्यानाकर्षण गर्न चाहन्छु ।”
उनले दुर्गम पहाडी जिल्लाहरूमा विपद्का घटना घट्दा समयमै उद्धार गर्नसक्ने अवस्था नभएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।








