दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न सरकारसँग एमालेको माग
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावरण तत्काल बनाउन माग गरेको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले प्रहरीले दुग्ध किसानमाथि आज गरेको व्यवहार अमर्यादित भएको बताए ।
किसानहरूले भुक्तानी नपाउँदा उनीहरू पीडित बनेका छन् बर्तौलाले भने, ‘किसानले सरकार र निजी डेरीहरूलाई दुग्ध पदार्थ बेच्नुभयो । दूध बेचेको रकम भुक्तानीको लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरू पुगे । दुग्ध विकास संस्थान र निजी डेरीहरूले ५देखि ६ अर्ब किसानहरूलाई तिर्नुपर्ने छ । भुक्तानी नपाउँदा उहाँहरू पीडित हुनुहुन्छ, गाई वस्तुलाई पिठो र दाना किन्न सक्ने अवस्था समेत किसानको छैन ।’
आन्दोलनरत किसानसँग सरकारले वार्ता गरी बाँकी बक्यौता भुक्तानी गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै बर्तौलाले किसानको भुक्तानी दिन बाँकी बक्यौता तत्काल तिर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँदै भुक्तानीका लागि माग गरे ।
दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनीहरूमाथि धरपकड गरी ४५ जना भन्दा बढी किसानलाई पक्राउ समेत गरेको थियो ।