७ कार्तिक २०८१, बुधबार

संघीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ: मन्त्री जोशी

प्रकाशित मिति :  21 June, 2024 4:28 pm


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा मन्त्री भएको सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री जोशीले वर्षे अधिवेशनमा निजामती विधेयक पारित गराउन कुनैपनि हालतमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसदबाट पारित हुन नसकेको स्पष्टीकरण पनि दिए ।

मन्त्री जोशीले सो विधेयकलाई टुंगो लगाउन सरकारले सरोकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए । उनले सबै सरोकारवालाहरूसँगको परामर्शमा विधेयकलाई टुंगो लगाउन आफूहरू लागि परेको बताए ।

मन्त्री जोशीले संघीयता कार्यान्वयनमा कमी भएको स्वीकार समेत गरे । उनले सरकारले संघीयता कार्यान्वयनको विषयमा जोड दिएर अघि बढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस !