रास्वपाबारे भट्टराईको प्रतिक्रियाः पुराना दलहरूसँग लसपस गरिरहे हराउन सक्छ
काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना पार्टीहरूसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समाप्त हुनसक्ने खतरा औंल्याएका छन् ।
शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष भट्टराईले पुराना दलहरूसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रूपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरूसँगको सहकार्यलाई रणनीतिक रूपले अघि बढाउन पनि रास्वपाको नेतृत्वलाई सुझाव दिए । उनले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया पनि दिए ।
“खाली एउटै सुझाव मैले उहाँहरूलाई भन्ने पनि गरेको छु–अब पुराना दलहरूसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिक रूपमा लिनुपर्छ । र वैकल्पिक नयाँ शक्तिहरूसँगको सहकार्य गरेर देशलाई साँच्चिकै विकल्प दिनका लागि स्ट्राटिजी बनाउनु पर्छ,”उनले भने ।








