७ कार्तिक २०८१, बुधबार

आज-भोलिमै संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौंः कानुनमन्त्री गिरी

प्रकाशित मिति :  23 June, 2024 12:18 pm


काठमाडाैँ । संघीय संसद सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो ।

संसद भवनमा आइतवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनमन्त्री गिरीले प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको र बैठकले संघीय संसदका कर्मचारीहरूको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिए । उनले आज भोलिमै यथोचित मागहरु वार्ताबाट सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौडेलले संघीय संसदका कर्मचारीहरूले जायज माग उठाएर आन्दोलन गरेकाे भन्दै माग सम्बोधन तत्काल हुनुपर्ने बताइन् । उनले कर्मचारीका जायज मागहरू संसद सचिवालय र राज्यले सम्बोधन गर्नुपर्ने बताइन् ।

यता, संसद सचिवालयका कर्मचारीहरूले भने बिरोध प्रदर्शन जारी राखेका छन् । संसद भवन परिसरमा हातमा कालो पट्टी बाँधेर र विभिन्न प्लेकार्डहरू बोकेर बिरोध प्रदर्शन गरेका हुन् । संसद सचिवालयका कर्मचारीहरूले विगत केही दिन यता अतिरिक्त समयमा गरेको कामको पारिश्रमीक पाउनुपर्ने मागसहित ११ बुँदे माग राखि बिरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले संसद सेवाको कर्मचारीहरूमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद भ्वन परिसरमै बिरोध जनाएका थिए । कर्मचारीहरूले संसद भवनमा धर्ना दिएसँगै ११ बजे सुरू हुने भनिएको प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !