७ कार्तिक २०८१, बुधबार

मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु: धनराज गुरुङ

प्रकाशित मिति :  25 June, 2024 4:32 pm


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट संन्यास लिने बताएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै उनले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरू कम हुने बताए ।

उनले भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर देश उन्नतितर्फ बढ्न नसक्ने जिकिर गरे । गुरुङले वडाध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।

उनले भने, “भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर न काँग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ । सिधा कुरा भन्छु म । धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदि लिएर आउँछ भने म राजनीतिबाट संन्यास लिन तयार छु । वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्छ ।”

उपसभापति गुरुङले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको पनि बताए । उनले पदका लागि मात्रै सहअस्तित्व स्विकार्ने र समन्वय गर्ने काम हुन नहुनेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !