७ कार्तिक २०८१, बुधबार

सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छः सांसद साउद

प्रकाशित मिति :  27 June, 2024 2:16 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदुत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कुटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशालि ११ राष्ट्रमा रहेका राजदुतहरु फिर्ता बोलाएको बताए । उनले सरकारले राजदुत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कुटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए ।

उनले सत्ता गठबन्धनका बिचमा भागबण्डा गरेर राजदुत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदुत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताए । उनले नेपालको कुटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग आग्रह पनि गरे ।

“केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रुपमा राजदुत चयन गर्दैछन् । दलहरूले विज्ञापन निकालेर । यसले नेपालको कुटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ । त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ । फिर्ता लिनुपर्छ । नेपालको कुटनीतिक क्षमता, विश्वसनीयतासित खेल्नु हुँदैन”, उनले भने।

उनले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रुपमा भन्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !