७ कार्तिक २०८१, बुधबार

चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न रास्वपाको माग

प्रकाशित मिति :  28 June, 2024 3:40 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका ह्ुन् । उनले नेपालमा २० वटा संरक्षित क्षेत्र रहेपनि मधेस प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नपर्ने बताए । उनले नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गरे ।

त्यस्तै नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताए । उनले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भुमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले भने – ‘नेपालमा अहिले २० वटा संरक्षित क्षेत्र रहेको छ, जसमध्ये ७ वटाको प्रत्यक्ष सम्बन्ध चुरेसँग पर्छ । नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा पाइन्छ । नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ यही क्षेत्रमा पाइन्छ । चुरे क्षेत्रलाई नेपाल सरकारले २०७१ असार २ गते निर्णय गरेर वातावरण संरक्षण क्षेत्र घोषणा ग¥यो । तर त्यो पर्याप्त भएन । म सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु कि, कम्तिमा मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । किनकी नेपालमा रहेको २० वटा संरक्षित क्षेत्रहरुमध्ये अरु सबै प्रदेशमा पर्छ तर मधेसमा एउटा पनि पूर्णरुपमा छैन । त्यसैले हामीलाई आवश्यक छ । तराइको लागि चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गरेको छ ।’

सांसद झाले चुरे संरक्षणका लागि प्रभावकारी रुपमा बजेट विनियोजनको गर्न सरकारलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !