७ कार्तिक २०८१, बुधबार

‘महत्वपूर्ण मुद्दाको सम्बोधन गर्न एमाले-काँग्रेस सहितको राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ’

प्रकाशित मिति :  2 July, 2024 10:42 am


काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि काँग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ ।

मंगलवार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन ।

उनले संविधानसहितका मुद्दाहरूलाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताए । उनले आम नागरिकका समस्यालाई केन्द्रमा राखेर नेकपा एमालेसँग सरकार बनाउने सहमति भएको बताए । उनले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो भएको, सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो भएकाले पनि दुई ठूला दलहरूको सरकार आवश्यक रहेको बताए ।

उनले दुई दलको बिचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरू दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको बताए । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओली र काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको बताए।

उनले राष्ट्रपति निवासमा सोमवार राति सभापति देउवा र अध्यक्ष ओली पुग्नुभयो भन्नेकुरामा कुनै सत्यता नरहेको र संविधानका सवालमा आयोग बन्ने र ड्राफ्ट नै भइसक्यो भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !