एमाले-काँग्रेस मिलेर सरकार बनाउने कुरा संवैधानिक छैनः माओवादी केन्द्र

काठमाडाैँ ।नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले काँग्रेस-एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर गरेका छन् ।
मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् । उनले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको बताए । उनले लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर काँग्रेस र एमालेबिच सहमति नभएको बताए ।
देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक नभएको जिकिर उनको थियो । काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको बताए ।
“हामीलाई के लागेको छ भने अप्रत्याशित रूपमा जुन खालको घटनाक्रमहरू अघि आएका छन् । यो त्यति स्वभाविक र संवैधानिक छैन । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर आएको जस्तो लाग्दैन । देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक जस्तो लाग्दैन । बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन्,” उनले भने ।
प्रवक्ता सापकोटाले सामाजिक न्याय र सुशासनमा सरकारले राम्रोसँग काम गरेको दाबी गरे ।