७ कार्तिक २०८१, बुधबार

कृषि समितिमा सरकारले विधेयक दिन सकेनः सभापति राणा

प्रकाशित मिति :  3 July, 2024 7:22 am


काठमाडौँ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले कृषि समितिमा सरकारले विधेयकहरु दिन नसकेको गुनासो गरेकी छिन्।

प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलवार बसेको बैठकमा सभापति राणाले समितिमा सरकारले विधेयकहरु दिन नसक्दा काम गर्ने इच्छा हुँदा पनि काम गर्न नपाएको गुनासो गरेकी हुन्।

कृषि समितिका सदस्यहरु काम गर्न तयार भएपनि समितिमा एउटा पनि विधेयक नभएकाले बैठक समेत बस्ने वातावरण नभएको भनाइ राणाको छ ।

सभापति राणाले भनिन्, “कृषि समितिका सदस्यहरु काम गर्न तयार छन् तर समितिमा एउटा पनि विधेयक छैनन् । कृषि सम्बन्धि समितिमा आए चाँडै बनाएर पठाउने थियौं ।”

सरकारले समितिमा कृषि सम्बन्धि विधेयकहरु दिए समयमा छलफल गरी समितिले काम गर्ने बताइन्। उनले कानून मन्त्रालयलाई पशु कल्याण अधिकारसँग सम्बन्धित कानूनको तर्जुमा तदारुकता देखाउन आग्रह गरिन्।

उनले मौद्रिक नीतिमा कृषिसँग सम्बन्धि नीति सहजिकरणको लागि अर्थमन्त्रालयमा पत्र पठाउने जानकारी गराइन ।

सभापति राणाले सरकारले किसानलाई मर्का नपर्ने किसिमले विगतका अनुदान निरन्तरता दिन आवश्यक रहेको चर्चा गर्दै उनले नेपालमा उत्पादन हुने समयमा भारतबाट नेपालको भन्दा सस्तोमा फलफूलहरु आयात हुँदा नेपाली किसान सधैँ पीडित बनेको बताइन्।

उनले सरकारले कृषि वस्तु मुलुकमा उत्पादन हुने र बाहिरबाट आयात हुने समय अवधिको पहिचान गरी त्यही अनुसार आयात गर्ने नीति अपनाउन आवश्यक रहेको बताइन्।

राणाले भनिन्, “नेपालमा कुन वस्तु कति उत्पादन हुन्छ । कुन सिजनमा हुन्छ । त्यो सिजनमा त्यो वस्तु विदेशबाट आयात नगरौं। आँप फल्ने बेलामा भारतबाट नेपालको भन्दा सस्तो आँप आउने गरेको छ । माछा आउने बेलामा नेपालको भन्दा सस्तो माछा भारतबाट आउने हुँदा नेपाली किसान रुन परेको छ । त्यसैले कुन समयका कुन वस्तु उत्पादन हुन्छ र बाहिरबाट कति आयात गर्नुपर्छ आकलन गरी काम गर्नुपर्छ।”

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !