७ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्रीले एमालेसँग सल्लाह नगरी काँग्रेससँग सरकार बनाउने छलफल अघि बढाएपछि यो अवस्था आयोः एमाले

प्रकाशित मिति :  3 July, 2024 7:41 am


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रश्ताव गरेपछि एमाले र काँग्रेस मिलेर सरकार बनाउने सहमति भएको नेकपा एमालेले जनाएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी पदाधिकारी बैठकले एमाले र काँग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री दाहालले गत एक हप्तादेखि काँग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास र वार्ता थालेसँगै प्रधानमन्त्रीले अविश्वासको वातावरण सिर्जना गर्दा यो स्थिति आएको दाबी गरे।

प्रधानमन्त्रीको प्रश्ताव नेपाली काँग्रेसले अस्वीकार गरेपछि एमाले र काँग्रेसले छलफल अघि बढाएको उनले बताए।

ज्ञवालीले राजनीतिक स्थायित्व र लोकतन्त्रको अभ्यासका लागि दुई मिलेर अघि बढ्ने निर्णय भएको जानकारी गराउँदै बैठकले नेपाली काँग्रेस र एमालेको बीचमा भएको समझदारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागतसहित समर्थन गर्ने निर्णय गरेको बताए।

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन, मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि सरकारमा सहभागी हुन र सघाउन तथा सरकार बन्ने वातावरण बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गर्ने निर्णय गरेको उनको भनाइ छ ।

नेता ज्ञवालीले दुई ठूला दल सहमतिमा पुगिसकेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्नेकुरा वाञ्छनीय हुने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !