७ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव

प्रकाशित मिति :  4 July, 2024 1:46 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहालाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु उनका निम्ति श्रेयस्कर हुने बताए।

महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहोर्‍याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताए।

त्यस्तै हिजाे(बुधबार) एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।

यस अघि एमालेले गत मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !