९ कार्तिक २०८१, शुक्रबार

काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्री दाहालको पनि हित हुन्छः योगेश भट्टराई

प्रकाशित मिति :  9 July, 2024 7:16 am


काठमाडौँ। नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योेगेशकुमार भट्टराईले काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री पुष्पकमल दाहालको हित हुने बताएका छन्।

शान्ति प्रक्रियालाईसही निष्कर्षमा पुर्‍याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको उनको जिकिर थियो ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरुले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि स्पष्ट पारे।

उनले काँग्रेस–एमालेबीचको सहकार्यविना संविधान संशोधनको काम सहज नहुने भएकाले पनि संविधानलाई सही ढंगले अघि बढाउन माओवादी केन्द्रले पनि संविधान संशोधनका बाटोमा आफूहरुलाई साथ दिने तर्क गरे।

सचिव भट्टराईले नयाँ सत्ता समिकरणसँग टाढिएर प्रधानमन्त्री दाहालले अन्यत्रै बाट अघि बढ्ने बाटो नभएको दाबी समेत गरे। प्रधानमन्त्री दाहाल अहिले रिसाएको अवस्थामा रहेकाले आफूहरुले जिस्क्याउन नचाहेको पनि उनको भनाइ छ।

सचिव भट्टराईले भने, “सम्पूर्ण प्रक्रियामा काँग्रेस र एमालेले चालेको प्रक्रियामा सँगै बसेर हिँड्दा नै उहाँको कल्याण छ । त्यसले नै शान्ति प्रक्रियालाई पनि सही निष्कर्षमा पु¥याउँछ । संविधानलाई गतिशील बनाउँछ । मुलुकलाई सही दिशामा अघि लैजान्छ । त्यसका हामी कामरेड प्रचण्डलाई सम्झाउँछौं । झम्टिन जाँदैनौं ।”

सचिव भट्टराईले प्रधानमन्त्री दाहालको व्यक्तित्वका कारण आफूहरुले सानो दल भएर पनि प्रधानमन्त्रीमा स्वीकार गरेको पनि उल्लेख गरे ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !