प्रधानमन्त्री लक्षित लेखकको कटाक्षः लामो समय प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएछौँ
काठमाडाैँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्ष दलको नेता बन्न उपयुक्त पात्र भएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्न प्रतिनिधिसभामा प्रस्ताव गरेपछि उनले सो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री दाहाल जब्बरजस्त प्रतिपक्ष दलको नेता बन्न सक्ने भएकाले आफूलाई लामो समय प्रधानमन्त्री बनाएर आफूहरूले विगतमा गल्ती गरेको प्रमुख सचेतक लेखकको कटाक्ष थियो । उनले प्रधानमन्त्री दाहालमा पद गुम्न लाग्दाको पीडा र आक्रोश भएकाले आफूहरूले उहाँमाथि कुनै वाद, प्रतिवाद नगर्ने पनि बताए ।
उनले भने,”प्रधानमन्त्रीज्यूले शुरुमै भन्नुभयो–दुई वटा ठूला दल मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला भनेर चिन्ता गर्नुभयो । यो चिन्ता मैले प्रधानमन्त्रीज्यूबाटमात्रै होइन, मैले पत्रपत्रिकामार्फत विज्ञहरू, विशेषज्ञहरू, राजनीतिक ज्ञाताहरूको पनि मैले यो कुरा सुनेको छु । यस्तो जब्बरजस्त प्रतिपक्षको दलको नेता हुनसक्ने व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ती प्रतिपक्षलाई कमजोर बनायौ कि । अब प्रतिपक्ष बलियो हुन्छ भन्ने मैले विश्वास गरेको छु ।”
प्रमुख सचेतक लेखकले अब प्रतिपक्ष संसदमा निकै बलियो हुने विश्वास समेत व्यक्त गरे ।