मुलुकलाई निकास दिन काँग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौः अब्दुल खान

काठमाडाैँ । जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताएका छन् ।
सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पारे ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राखेकाे विश्वासको मतको विपक्षमा बोल्दै उनले दुई ठूला दल काँग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गरेकाे अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरुले नयाँ सत्ता समिकरणलाई स्वागत गरेको बताए ।
“उपकरण छैन भने डाक्टर केही गर्न सक्दैन । त्यसकारण यो सरकारले केही गरेको छैन भन्ने होइन । प्राथमिकता उपचार गरेको छ । अब चाहिएको छ शल्यक्रिया गर्न । देशको आवश्यक्ता शल्यक्रिया गर्नसक्ने खालको डाक्टर हो । यसको निम्ति हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डाक्टर सिके राउत जीले यही रोष्टमबाट ३, ४ महिना अगाडि भन्नु भएको थियो–ठूला दलहरु मिल्नुस, यदि देशको उन्नति हुन्छ, समृद्धि आउँछ भने भनेर भन्नु भएको थियो । देशमा रोजगारी आउँछ भने तपाईहरु मिल्नुस् । मिलेर देशलाई निकास दिनुस,” उनले भने ।
सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकार गर्न नसकेको पनि बताए ।