२६ आश्विन २०८१, शनिबार

सर्वोच्च अदालतमा एक वर्षमा ३७.८४ प्रतिशत मुद्दा फर्छ्योट

प्रकाशित मिति :  16 July, 2024 12:00 pm


काठमाडौँ । चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ३७.८४ प्रतिशत मुद्दा फर्छ्योट भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले विगत ५ वर्षको तुलनामा यस वर्ष करिव ७ प्रतिशतले मुद्दा फर्छ्योट वृद्धि भएको बताए ।

चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ४० हजार ९१२ मुद्दामध्ये १५ हजार ४८४ मुद्दा फर्छ्योट गरेको उनले बताए ।

उनका अनुसार विगत पाँच वर्षको तुलनामा यस वर्ष मुद्दा फर्छ्योट संख्या र प्रतिशतमा वृद्धि भएको छ । अदालतमा रहेका ४० हजार ९१२ मुद्दामध्ये अब २५ हजार ४२८ मुद्दा फर्छ्योट हुन बाँकी छन् । प्रवक्ता उप्रेतीले विगत ५ वर्षमा २ वर्ष नाघेका मुद्दाको तुलनामा पनि २ वर्ष नाघेका मुद्दा फर्छ्योट बढी रहेको बताए ।

“विगत ५ वर्षमा २ वर्ष नाघेका २० हजार १४२ मुद्दामा ८ हजार १२२ मुद्दा फर्छ्योट भएका छन् । अब २ वर्षका नाघेका १२ हजार २० मुद्दा बाँकी रहेका छन्,” उनले भने ।

उनले सर्वोच्च अदालतमा प्राप्त स्रोत साधन न्युन र जनशक्तिको दक्षता अभिवृद्धिमा राज्यको लगानी नभएको गुनासो गरे । उनले अदालतहरुको भौतिक अवस्था कमजोर भएकाले पनि परिणाम बढ्न नसकिरहेको बताए ।

सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन पद्धतिका कारण तथ्याङ्क सकारात्मक रहेको बताए । उनले पछिल्लो समय अदालतले दर्ता भएका मुद्दा भन्दा बढी फर्छ्योट गरिरहेको दाबी गरे । उनले अदालतहरुमा दर्ता भएका मुद्दा फर्छ्योट तथ्याङ्कहरुले अदालतहरु सुधारोन्मुख भएको देखिएको बताए ।

सर्वोच्चका अनुसार रिट निवेदनका लागि परेका ७ हजार २८६ मुद्दाहरुमा पनि २ हजार ८० मुद्दा फर्छ्योट भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !