२४ आश्विन २०८१, बिहिबार

नदीजन्य सामग्री बिक्रीबाट स्याङ्जाको भीरकोटले गर्‍यो १३ करोडभन्दा बढी आम्दानी

प्रकाशित मिति :  16 July, 2024 1:16 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले प्रशोधित ढुङ्गा, गिटी, बालुवा लगायताका नदीजन्य निर्माण सामाग्री बिक्रीबाट गत आर्थिक वर्ष २०८०\०८१ मा १३ करोडभन्दा बढी आम्दानी गरेको छ ।

पालिकाको बिच भाग भएर बग्ने आँधीखोलामा पाइने नदीजन्य सामाग्री प्रशोधन गर्ने ग्रीजी भाइब्रेटिंग मेसिनबाट पालिकाले १३ करोड २३ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको हो ।

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७८\०७९ मा पालिकाले नदीजन्य निर्माण सामाग्री बिक्रीबाट २ करोड ३३ लाख आम्दानी गरेको थियो भने आर्थिक वर्ष २०७९\०८० मा नदीजन्य निर्माण सामाग्री बिक्रीबाट करिब ८ करोड आम्दानी गरेकाे पालिकाको लेखा अधिकृत जब्बर अलि मियाँले जानकारी दिए ।

नदीजन्य सामाग्रीको उत्खनन्, प्रशोधन र बिक्रीवितरणलाई व्यवस्थित गर्न एवम् गुणस्तरीय निर्माण सामाग्री उपलब्ध गराउने उद्देश्यले पालिकाले “भीरकोट नगरपालिकाको क्षेत्र भित्र पर्ने नदीजन्य पदार्थको उत्खनन् , प्रशोधन तथा विक्रीवितरण सम्बन्धी कार्यविधि ,२०७७“ अनुसार काम गरिरहेको लेखा अधिकृत मियाँले बताए ।

आर्थिक रूपमा आत्मनिर्भर बनाउन फोहरमैला व्यवस्थापन तथा सरसफाइ केन्द्र स्थापना, गडहरे गुफा विकास गुरूयोजना निर्माण र नदीजन्य निर्माण सामाग्री प्रशोधन केन्द्रको स्थापना गरिएको पालिकाले जनाएको छ ।

व्यवसायिक कृषिलाई प्राथमिकता दिँदै गडहरे गुफा, स्वरेक मैदान , सुन्दरचौर क्षेत्रमा पर्यटन प्रबर्द्धन गरेर पालिकलाई आन्तरिक आम्दानी गर्न सकिने आर्थिक मियाँले बताए ।

प्रशोधित निर्माण सामाग्री बालुवा प्रति घनमिटर २ हजार ४ सय , ठूलो ढुङ्गा प्रति घनमिटर ४ सय सानो ढुङ्गा प्रतिघनमिटर २ सय , गिटी प्रति घनमिटर १ हजार पाँच सय र चिप्स प्रति घनमिटर १ हजार ४ सय रूपैयाँका दरले बिक्री भैरहेको पालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !