नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न मन छ:नेता कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् ।
बुधवार काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै कोइरालाले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताएका हुन् ।
उनले महिलाहरूमा समाजलाई डोर्याउन सक्ने क्षमता हुने बताए । उनले महिलाहरूलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको जिकिर गरे ।
आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरूको साथ र सहयोगकै कारण जितेको उनको भनाई थियो । उनले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताए ।
“४ पटक चुनाव जितेँ मैले आफ्नो क्षेत्रबाट, योगदान महिलाहरूकै थियो । महिलाहरूलाई उच्च सम्मान हामीले दिनुपर्छ । म आदरणीय शेरबहादुरजीलाई भन्छु ३३ प्रतिशत होइन, महिलाले ५० प्रतिशत पनि पाउनुपर्छ । तर तपाईँहरू सशक्त भूमिका निर्वाह गर्नुस् । घरमा बसेर चुलाचौका गर्ने होइन,” उनले भने ।