दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छः मन्त्री दाहाल
काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको बताएका छन् ।
बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताएका हुन्र । उनले नेपाली काँग्रेस र नेकपा (एमाले) का बिचमा भएको सहमतीका आधारमा बाँकी रहेको कार्यकालमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे ।
उनले काँग्रेस र एमालेका बिचमा भएको सहमती नलुकाइएको पनि बताए । उनले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरु मिलेर सरकार बनाएको बताए ।
“कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने । यो भएपछि अब हामीले एउटा प्रतिवद्धता गरौँ भनेर दुईवटा ठुला दलहरु र यो खुला पनि छ । पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन । अघिल्लो दुई वर्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ”,उनले भने ।








