२४ आश्विन २०८१, बिहिबार

सरकार परिवर्तन हुनुको कारण ‘बिआरआई फ्याक्टर’ होः महासचिव गुरुङ

प्रकाशित मिति :  18 July, 2024 6:38 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले पुष्पकमल दाहाल नेतृत्वको सरकारले बिआरआई परियोजनालाई अगाडी बढाउन लागेपछि सरकार परिवर्तन भएको दाबी गरेका छन् ।

बिहीवार नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको बिआरआई वास्तविकता र भ्रम विषयक अन्तरक्रियामा बोल्दै महासचिव गुरुङले बिआरआई परियोजनालाई अगाडी बढाउन लागेपछि सरकार परिवर्तनको खेल सुरू भएको बताएका छन्।

उनले सन् २०१७ मा बिआरआईमा सम्झौता भएको उल्लेख गर्दै अहिले नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौता गर्ने चरण रहेको बताए । दाहाल नेतृत्वको सरकारले नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौता गरेर प्रक्रिया अगाडी बढाउन लागेकै बेला सरकार परिवर्तन भएको उनको भनाइ छ ।

दुई पक्षबिच हस्ताक्षर गर्ने तयारी भइरहेको बेलामा सरकार परिवर्तन भएको उनले बताए । उनले काँग्रेस–एमालेका बीचमा सरकार बनाउने सहमती हुनुको अघिल्लो दिन एक दलले ऋणसहितको बिआरआई लिनु हुँदैन भनेर वक्तव्य जारी गरेको भन्दै यसले सरकार परिवर्तन हुनुको एउटा ‘फ्याक्टर’ बिआरआई भएको देखाएको जिकिर गरे ।

उनले दलहरूका बिचमा समझदारी जुटाएर बिआरआई परियोजनालाई अगाडी बढाउनुको विकल्प नभएको बताए। उनले मुलुकको समृद्धिको लागि बिआरआई परियोजना आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !