न्युरोडको फुटपाथ बढाउन स्थानीयको अवरोधबारे महानगर भन्छ: काम रोकिँदैन
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित न्युरोडका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् ।
शुक्रवार काठमाडौँ महानगरपालिकाले वडा नम्बर २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो । केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडी बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरू गरेको थियो ।
स्थानीयले फुटपाथ बढाउने कामको बिरोध गर्दै अवरोध गरेका हुन् । उनीहरूले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । काठमाडौँ महानगरपालिकाले भने कानूनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरूले अदालतको आदेशको अवहेलना गरेको बताएको छ ।
अदालतलको आदेशको अवहेलना गर्नेलाई कानूनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काठमाडौँ महानगरपालिका प्रमुखका स्वकिय सचिव भूपदेव साहले महानगरले पूर्वयोजना अनुसारको काम अगाडी बढाएको बताए । उनले अदालतको आदेशअनुसार आफूहरुले काम गरेको भन्दै कानून अनुसार अगाडी बढ्ने बताए ।








