२४ आश्विन २०८१, बिहिबार

नयाँ सरकारसँग मधेस प्रदेशवासी छैनन् सन्तुष्ट

प्रकाशित मिति :  20 July, 2024 4:20 pm


काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबिच सत्ता समीकरण बनेसँगै नेकपा एमाले अध्यष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् ।

नेपाली काँग्रेस र नेकपा एमालेबिच संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर सत्ता समीकरण बनेको छ । प्रधानमन्त्री ओलीले आईतवार (भोलि) विश्वासको मत लिँदै छन् । तर दुई ठूला पार्टीबिचको सत्ता सहकार्यले कतै निरंकुशतालाई प्रश्रय गर्दैन भन्ने आम मानिसको आँकलन छ । निजी क्षेत्र, शिक्षक, कर्मचारीतन्त्र, कानूनकर्मीहरू नयाँ सरकारप्रति आशातित देखिन्छन् । नयाँ मन्त्रीहरूलाई भेट्न सिंहदरबार भरिभराउ छ । तर सत्ता समीकरणपछि पनि मधेस प्रदेशका आम नागरिकहरू भने सन्तुष्ट छैनन् ।

उनीहरू सत्ता सहकार्यका लागि मात्रै गठबन्धन बनेको भन्दै यस सरकारले नागरिकमा कुनै कुराको फरक नपार्ने बताउँछन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मधेस प्रदेशका अधिकांश नागरिकहरुले आफू जोगिनका लागि सरकार बनाएको जिकिर गरे ।

पेशाले वरिष्ठ अधिवक्ता रहेका जनकपुरका किशोरी साह देशमा आएका नयाँ सत्ता समीकरणलाई हेर्दा आफू जोगिनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको बताउँछन् । उनले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछोड्ने संकल्पका साथ देश विकासमा लागेको खण्डमा मात्रै सरकार देशका लागि लाभदायी बन्ने बताए ।

नेपाल बौद्धिक प्रतिष्ठानमा कार्यरत विष्णु कुँवर राजनीतिक परिवर्तनले जनतामा कुनै उत्साह नआएको बताउँछन् । पछिल्ला कुनैपनि सरकार जनताको सरकार बन्न नसकेको बताउनु भयो । राजनीतिक दलको सरकार कुनैपनि व्यक्ति सरकामा गएर केही उपलब्धि नहुने बताए ।

अर्का मधेस प्रदेशको धनुषाका नागरिक कुनैपनि सरकार स्वार्थका लागि मात्रै बन्ने गरेको भन्दै असन्तुष्टि जनाए । अर्का नागरिक भने अहिलेको अवस्थामा राजीतिक परिवर्तन हुनुले केही अर्थ नराख्ने बताए । उनले स्वास्थ्य, शिक्षा लगायतका आम नागरिकका समस्या समाधानका लागि राजनीतिक दलहरूको दृष्टिकोण नरहेको बताए । त्यस्तै अर्का नागरिकले राजनीतिक व्यक्तिले आफूलाई स्वार्थ मिल्ने किसिमले मात्रै हेर्ने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !